विराटनगर,फागुन १३ गते – मोरङ र ललितपुरमा गरेर ९ दिनभित्रमा ३ जना व्यावसायिक साझेदारको हत्या गर्दै शव खाल्डो खनेर गाडिएको घटनाको अनुसन्धान सकिएको छ। 

इलाका प्रहरी कार्यालय रंगेलीले हत्या प्रकरणको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन ९मिसिल० सरकारी वकिल कार्यालय मोरङमा बुझाएको हो।  मिसिल अध्ययन गरिसकेपछि वकिल कार्यालयले अभियोगपत्र तयार पारेर हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने भएको छ। रंगेलीका इन्सपेक्टर अनमोल खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार अनुसन्धानबाट हत्यामा ६ जनाको संलग्नता पुष्टि भएको छ। ५ जना पक्राउ परिसकेका छन्। १ जना फरार रहेकाले खोजी जारी राखिएको डीएसपी मुकारुले बताए। ‘घटनाको अनुसन्धान सकेर मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको छ,’ उनले भने, ‘मुद्दाको बाँकी प्रक्रिया अब उतैबाट अघि बढ्छ।’ हत्या गरेपछि २ वटा अलगअलग खाल्डो खनेर गाडिएको अवस्थामा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा गत माघ १२ र १३ गते दुईवटा शव भेटिएको थियो। प्रहरीले १२ गते सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव खाल्डोबाट उत्खनन गरेको हो। 

चाँडो गलाउन ३० मिटरको दूरीमा रहेका दुवै खाल्डोमा नुनसमेत हालेर गाडिएको अवस्थामा शव भेटिएको थियो। अनुसन्धानबाट राजेन्द्रको हत्या पुस ३ र शम्भुको पुस ७ गते भएको खुलेको छ।  त्यसअघि नै उनीहरुका व्यावसायिक साझेदार तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको हत्या भइसकेको पत्ता लाग्यो। ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्डमा खाल्डो खनी सिमेन्ट प्लाष्टर गरेर गाडेको अवस्थामा माघ २० गते प्रहरीले मोहनको शव उत्खनन गर्‍यो। मंसिर २८ गते हत्या गरेर लगभग साढे ४ फिट गहिरो खाल्डोभित्र गाडिएको मोहनको शव उत्खनन गर्न मोरङबाट डीएसपी मुकारुङ आफै ललितपुर पुगेका थिए। 

तीनै जनाको हत्या व्यावसायिक साझेदार सिरहाको सिरहा नगरपालिका–२१ घर भई काठमाडौं बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डलको योजनामा भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। उनका अनुसार आफैँ योजना बनाएर ९ दिनको अवधिमा ३ जना साझेदारको हत्या गरे पनि शव बरामद भइसकेपछि घटनाको अनुसन्धानमा सहयोग गर्ने बहानामा अनिल प्रहरीको सम्पर्कमा आएका थिए। काठमाडौंबाट कुरियर गरेर जहाजमार्फत केही कागजात मोरङ प्रहरीलाई पठाएका उनी काठमाडौं महानगरपालिका–१३ बल्खुबाट पक्राउ परेका हुन्।  अनिलसहित हत्यामा संलग्न मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, धनपालथान–७ का ६२ वर्षीय नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ वर्षीय मोहमद सुभाम र सुनसरीको देवानगन्ज गाउँपालिका–६ का १८ वर्षीय मोहमद हकिम पक्राउ परिसकेको एसपी जीसीले बताए। 

उनका अनुसार नेपाल–बंगलादेश बैंकमा धितो राखिएको ललितपुरको हरिसिद्धीस्थित एनबी वार्ता हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको २५ रोपनी ७ आना जग्गा उकास्दा प्राप्त हुने ३ प्रतिशत कमिसन (लगभग डेढ करोड रूपैयाँ) मा कुरा नमिल्दा तीनै जनाको हत्या गरिएको हो। बैंकले लिलामीको प्रक्रियामा लगेको जग्गा उकास्ने विषयमा अनिल र काभ्रेका भरथ खड्काबीच सहमति भएको थियो।  जग्गा उकास्नका लागि अनिलले भरथलाई ४५ करोड रूपैयाँ दुई महिनाभित्र दिने सम्झौता २ जनाबीच गत असोज १० गते भएको थियो। पुस २० गतेको म्याद राखेर त्यही बेला दिएको ६ करोडको चेक खातामा पैसा नभएपछि साटिएन। पैस जुटाउन नसकेपछि अनिलले राजेन्द्रलाई सुनाए। राजेन्द्रबाट मोहन हुँदै कुरा आएपछि शम्भु लगानी गर्न तयार भए। 

मोहनले कमिसनको आधा रकम मागेपछि क्रुद्ध बनेका अनिलले उनको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ। मोहनको हत्या गरेको भोलिपल्ट अर्थात मंसिर २९ गते जग्गाको छलफल गर्न भन्दै राजेन्द्र र शम्भुलाई लिएर अनिल विराटनगर आए। विराटनगरमा शम्भु र भरथको भेट गराए। जग्गा उकास्नलाई ५५ करोड दिन शम्भु तयार भएपछि सबै पैसा पुस २७ भित्रमा दिने गरी शम्भु र भरथबीच पुस २ गते सम्झौता भयो।  त्यहाँ पनि कमिसनको कुरा नमिलेपछि राजेन्द्रको हत्या पुस ३ गते गरिएको प्रहरीले जनाएको छ। पुस ७ गते अनिलकै योजनामा शम्भुको पनि हत्या भयो। ‘कमिसनको रकम एकलौटी बनाउने दाउमा रहेका अनिलको योजनामा ३ जना साझेदारको हत्या गरिएको हो,’ एसपी जीसीले भने, ‘१ जनाको ललितपुर र २ जनाको मोरङमा हत्या गर्दै खाल्डो खनेर गाडिएको अवस्थामा शव बरामद गरिएको हो।’ 

मोहनको हत्या ललितपुरमा भएकाले मोरङको घटनामा अदालतको आदेश आइसकेपछि ललितपुर प्रहरीले पनि घटनाको अनुसन्धान गर्ने भएको छ। सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले प्रहरीले बुझाएको मिसिल अध्ययन गर्ने काम भइरहेको जानकारी दिए। ‘अध्ययन गरिसकेपछि मिसिलमा केही कुरा छुटेको पाइएमा समेट्न प्रहरीलाई निर्देशन दिइने छ,’ उनले भने, ‘मसिल पूर्ण रहेछ भने अभियुक्तविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिन्छ।’ काफ्लेका अनुसार आगामी आइतबार वा सोमबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ