सिरहा,फागुन १३ गते – टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जन बनेको छ । यही फागुन सङ्क्रान्तिका दिनदेखि भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको छ । दैनिक एकपटक आवतजावत गर्ने रेलको आवाज थाहा पाएपछि सबै स्टेसन र रेलमार्ग वरिपरि रमिते जम्मा हुने गरेका छन् । रेलको ‘सिठ्ठी’ पाँचरसात किलोमिटर परसम्म सुनिने हुँदा नजिकका सर्वसाधारण रेल हेर्न दौडने गरेका छन् ।
चलिरहेको यसको ‘छकछक’ आवाजले पनि सर्वसाधारण मख्ख देखिएका छन् । “आब रेल चल लागल‘१ जल्दिए चढ पैवाक आस जागल” (अब रेल चल्नै लाग्यो नि १ चाँडै चढ् पाइने आस पनि जाग्यो) कुर्था रेल स्टेसन नजिकैको महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टा बस्तीका मुस्लिम कवारी भन्नुहुन्छ, “जहिया रेल यात्रीके चढाव लागत, हम पहिल दिन परिवारक सबगोटे जयनगर जायब” (जुन दिन रेलले यात्रु चढाउन थाल्छ, म परिवारका सबैलाई लिएर जयनगर जानेछु )।
कुर्था धनुषा जिल्लामा पर्ने भए पनि स्टेसन नजिकै महोत्तरीका पिपरा गाउँपालिका र लोहारपट्टी नगरपालिकाका सघन बस्ती छन् । धनुषातर्फ कुर्था मात्र भएको हुँदा यहाँ आउजाउ गरिरहेको रेल महोत्तरीका १० भन्दा बढी बस्तीका लागि अहिले रमाइलो माध्यम बनेको छ । पिपरा गाउँपालिकाका रतनपुर, रतौली कुर्थासँगै जोडिएका बस्ती हुन् । त्यसैगरी लोहारपट्टीका महदैया, तपनपुर, खुट्टा उत्तरबारी, वरटोल, मधपुरा र भ्रमरपुरा बस्ती पनि कुर्था स्टेसनबाट नजिक छन् ।
उद्घाटन नहुउञ्जेल ‘ड्रायरन’ गर्न अहिले दिनहुँ एकपल्ट चल्ने गरेको रेल हेर्न यस भेगका बस्तीबाट सर्वसाधारणको भिड हुने गरेको छ । रित्तै भए पनि रेल चल्न थालेपछि अब छिट्टै चढ्न पाइने आस सर्वसाधारणमा जागेको छ । “पैछला तीन सालस आब रेल चलत कहैत सोरगुल मचैत छल, मुदा नई चलल” (पछिल्ला तीन वर्षयता अब चैंँ रेल चल्छ भन्ने चर्चा खुब चल्थ्यो तर त्यस्तो भएन) खुट्टा वरटोल बस्तीकी ७० वर्षीया सीयादेवी यादव भन्नुहुन्छ, “अई बेर रेल चलल, आब बुझाइय जे हमहुँ सब रेल चढ पायब” (यसपालि चाहिँ चल्यो, अब लाग्दैछ, म पनि रेल चढ्न पाउँछु)" ।
यात्रुरहित रेल नै चलेपछि अब चाहिँ चाँडै चढ्न पाउने गरी चाँडै सञ्चालन हुन्छ भन्ने सर्वसाधारणमा विश्वास जागेको देखिन्छ । खासमा ट्र्याकको अवस्था यकिन गर्न र ट्राफिक जनसचेतनाका लागि रित्तो रेल चलाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । “लिकको अवस्था बुझ्न र चलिरहेका बेला वरिपरि सर्वसाधारण नआऊन् भन्ने सचेतना बढाउन यात्रुरहित रेल चलाइएको हो”, कम्पनीका महाप्रबन्धक निरञ्जन झा भन्नुहुन्छ, “अब रेल चल्न सक्छ भन्ने भएको छ, यसको विधिवत् उद्घाटन गरेर यात्रुसेवा सञ्चालन गरिने छ ।” यसबीच भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि यही फागुन १६ वा १७ गते प्रस्ताव गरेको र नेपालतर्फबाट निर्णय हुन बाँकी रहेको कम्पनीले जनाएको छ




















