सिमरा,फागुन १२ गते – अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी बाराको सिम्रौनगढमा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् । 

नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा लिएर तस्करको समूह महुवानी आएपछि दोहोरो फायरिङ भएको हो ।  प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उक्त समूहले गोली चलाएको र प्रहरीले जवाफी कारवाही गरेको प्रहरी प्रवक्ता राजेश थापाले बताए । प्रहरीमाथी गोली चलाएर भाग्न खोजेका उनीहरुमध्ये दुईजनालाई प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो । 

घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुलेको छैन् । घटनामा संलग्न भारत मोतिहारीका ४० वर्षीय हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट प्रहरीले ७५ केजी गाँजा समेत बरामद गरेको छ ।  प्रवक्ता थापाका अनुसार ६७ जनाको समूहमा रहेका तस्करले पाँचवटा बोरामा हालेर गाँजा भारततर्फ लैजादै गरेका थिए । पूर्वसूचना पाएको प्रहरीले तस्करको समूहलाई नियन्त्रणमा लिन ुएम्बुसु थापेर बसेको थियो ।  सोही क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा घटना भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको प्रवक्ता थापाले बताए