सर्लाही,फागुन १० गते – जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेको छ ।
मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका– २ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्ए काबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर– २, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औला खाइदिएको छ ।
यस्तै घाइतेमध्य दुईजनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ । बाँकी घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन्




















