विराटनगर,फागुन ८ गते –  न्यायाधीश र प्रहरीसँग ‘सेटिङ’ मिलाएर हत्याका अभियुक्तलाई छुटाइदिने भन्दै पीडकका परिवारसँग ३३ लाख रूपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का नेतृत्वको टोलीले इटहरी उपमहानगरपालिका–२० का मन्दु भनिने ३९ वर्षीय जसबहादुर लिम्बूलाई पक्राउ गरेको हो। लिम्बू र इटहरी–१२ का भरत चौधरी मिलेर इटहरी–१२ खनार बस्दै आएकी तारा कार्की ९पुरी०सँग विभिन्न समयमा ३३ लाख रूपैयाँ लिएको खुलेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए। 

चौधरी भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा ताराका पति (श्रीमान) सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई जिल्ला अदालत तेह्रथुमले कारागार चलान गरेको थियो। सुरेन्द्र र बालकृष्णलाई छुटाइदिने भन्दै लिम्बू र चौधरीले २०७६ साल चैतदेखि २०७८ साल माघ १५ गतेसम्म तारासँग ३३ लाख रूपैयाँ असुलेर ठगी गरेको पाइएको एसपी थापाले बताए। 

पति र देवर कारागारमुक्त हुने आशमा ताराले भेटेर र आईएमई गरेर लिम्बू र चौधरीलाई रकम पठाएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रकमको ‘बार्गेनिङ’ गरिएको अडियो रेकर्ड पनि प्राप्त भएको छ। यही फागुन ३ गते पक्राउ परेका लिम्बूविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीले सुनसरी अदालतबाट गत शुक्रबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ