विराटनगर,फागुन ६ गते –  शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको छ लाख रूपैयाँसहित दुई जना महिलालाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ की ३५ वर्षीया गीता साह र विराटनगर–१५ की ३७ वर्षीया मुन्नी साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले दुवै जनालाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट बिहीबार पक्राउ गरेको हो । गुप्ताङ्गमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुको साथबाट तीन–तीन लाख रूपैयाँ नगद बरामद भएको एसपी लामिछानेले बताए । भारतबाट लागुऔषध वा अन्य कुनै अवैध वस्तु लिएर नेपालतिर आउँदै गरेको गोप्य सूचनाका आधारमा महिलाहरुलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले विशेष टोली परिचालन गरेका थिए । 

टोलीले सीमा क्षेत्रमा रोकेर शरीर खानतलासी गर्दा साथबाट ठूलो रकम बरामद भएको सशस्त्रले जनाएको छ । बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि बिहीबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको डीआईजी गिरीले बताए । उनले नेपाल–भारत सीमा क्षेत्रबाट हुँदै आएको अवैध धन्दा नियन्त्रणमा लिन सशस्त्रको विशेष टोली परिचालन गरेर निगरानी बढाइएको जानकारी दिए ।  बरामद भएको रकमको स्रोत खुलेको छैन । पक्राउ परेकाहरुले पनि रकम कहाँबाट ल्याएको हो भनेर खुलाएका छैनन् । उक्त रकम अवैध हुन्डी कारोबारको भएको हुनसक्ने सशस्त्रको अनुमान छ