काठमाडौं,फागुन ३ गते –   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०को पछिल्लो टी– २० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।ओमानमा सोमबार सम्पन्न चारदेशीय टी– २० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो । नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।

आयरल्याण्डलाई नेट रनरेटले पछि पार्दै सिरिजको उपाधि जितेको यूएई नेपाललाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ । एसोसिएटमा यूएई सबैभन्दा अघि छ । नेपालपछि स्कटल्याण्ड १४औं स्थानमा छ भने टेष्ट नेसन आयरल्याण्ड १५औं स्थानमा छ । ओमान १८औं स्थानमा छ । नेपाल, ओमान, यूएई र बयरल्याण्ड यही फेब्रअरी १८ देखि हुने टी– २० विश्वकप ग्लोबल क्वालिफायर ए खेल्दैछन् । इंग्ल्याण्ड टी– २० वरीयताको शीर्ष स्थानमा छ भने भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा छ ।