विराटनगर,फागुन ३ गते –  मोरङमा विभिन्न उपाय लगाएर लागुऔषधको ओसारपसार हुने गरेको पत्ता लागेको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्न थालेसँगै ओसारपसार तथा कारोबारमा संलग्नले नयाँ उपाय लगाएर लागुऔषधको ओसारपसार गरिरहेको फेला परेको हो। 

मोरङको सुनवर्षी नगरपालिका–१ मा बस्दै आएका २३ वर्षीय विनोद तामाङ मलद्वारमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका छन्। धनकुटाको जोरपाटी घर सुनवर्षीमा बसोबास गरिरहेका उनलाई प्रहरीले सोमबार साँझ सुनवर्षी–८ बाट पक्राउ गरेको छ। प्लाष्टिकमा पोको पारेर तामाङले मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा साँझ ६:३० बजेतिर १ ग्राम ७ सय ४० मिलिग्राम खैरो हेरोइन बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएका उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। 

त्यस्तै रतुवामाई नगरपालिका–४ पैयामारीबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित रतुवामाई–१ का ३५ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ। साइकलमा यात्रा गरिरहेका महतोलाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट लागुऔषध कोरेक्स १० बोतल र प्रतिबन्धित औषधि ओमेप्राजोल चार सय पिस (२० पत्ता), डिक्लोफेन्स ९० पिस (छ पत्ता), इट्वाइक्लोमिन ४० फिस, ओम्निगेल इन्जेक्सन १८ पिस र ओफ्लोक्सिन ६० बोतल बरामद भएको डीएसपी श्रेष्ठले बताए। उनीमाथि थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी श्रेष्ठले दिए