सिरहा,माघ २९ गते – महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले सर्वोच्चमा दरपिठ उपर रिट दायर गरेका छन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचन मधेश प्रदेशमा रोक्न मेयर साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्च प्रशासनले त्यसलाई दरपिठ गरेको थियो । प्रशासनको निर्णयविरुद्ध निवेदकले इजलासमा निवेदन दिन सक्ने व्यवस्था छ ।

सोही अनुसार मेयर साहले पुनः दरपिठ उपर सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गराएका हुन् । जसको सुनुवाई अगामी फागुन ४ गते हुने मेयर साहले जानकारी दिए । गएको बुधबार मेयर साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल पाँच वर्ष हुने हुँदा उक्त कार्यकाल पुरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित निवेदन दिएका थिए । सो निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

तत्कालिन प्रदेश २ मा २०७४ सालमा स्थानीय तहको चुनाव असोज २ गते चुनाव भएको थियो । वैशाख ३० गते नै चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको पाँच वर्षे कार्यकाल पुरा हुन नपाउने रिट निवेदनमा मेयर साहले दावी गरेका छन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावका बारेमा प्रष्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपिठ गरिएको जानकारी दिएका थिए । सरकारले वैशाख ३० एकै चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ