राजविराज,माघ २८ गते – प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको चयन मनोमानी तरिकाले गरेको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउंपालिका–७मा रहेको श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ ।
मनपरी ढंगले समितिको निर्वाचन गरिएको र सो समिति भंग गरी सबै अभिभावकको सहमति हुने किसिमले समितिको पुर्नगठन गर्नु पर्ने माग गर्दै स्थानीय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका हुन् । एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानून मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउंदै अभिभावकहरुले तालाबन्दी गरेका छन् ।
स्थानीय अभिभावक उपेन्द्र यादवले सो बारे पटक– पटक प्रधानाध्यापक विपिन झा र व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भइ तालाबन्दी गर्नु परेको बताए । अर्का अभिभावक प्रकाश मण्डलले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया देखि कर्मचारी नियुक्ती तथा भौतिक पूर्वाधार निर्माणमा समेत अनियमितता भएको दाबी गर्दै यसको उच्च स्तरीय छानबिन हुनुपर्ने आफूहरुको माग रहेको बताए




















