सिरहा,माघ २७ गते महोत्तरीका पिपरा गाउँपालिका वडा नं – ५ का वडा अध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ३५ लाख २१ हजार कायम गरी कायम गरी सार्वजनिक सम्पत्ति हानी– नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।
अनुसन्धानमा उनले वडाध्यक्ष नहुँदै साविक सहोडवा गाविस वडा नं – ६ हाल पिपरा गाउँपालिका वडा नं ५ स्थित रहेको ठूलो सुब्बा पोखरी ठेक्का लिएका थिए। २०७१ साल भाद्र १ गते देखि ०७६ साल आषाढ मसान्तसम्मको ५४ लाख ६४ हजार सकार गर्ने वडाध्यक्ष यादवले २०७३ माघ ४ सम्ममा जम्मा १९ लाख ४२ हजार मात्र साविक सहोडवा गाविसलाई बुझाएका थिए।
आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाइ आफूलाई गैरकानुनी लाभ पुर्याइ ठूलो सुब्बा पोखरीको ठेक्कावापतको बाँकी ३५ लाख २१ हजार हिनामिना गरेको देखिएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए




















