सिरहा,माघ २७ गते – बाँकेको नेपालगंज उपमहानगरपालिका– ४ बसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका– ४ बस्ने अछाम तुर्माखाद गाउँपालिका– ७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका– ४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बिराटनगर महानगरपालिका(१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित केरावारी गाउँपालिका– ८ बस्ने ३५ वर्षीय मिकेनजी लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १– ०२– ०४१ प. ६२५९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका– ६ मंगलगडी चोकबाट करिब १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका– २ बस्ने २५ वर्षीय अजय सिंह चौधरी र २६ वर्षीय राजु गायन रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















