अनुभक्त चौधरी
सिरहा,माघ २५ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.१ भोरकटैयास्थित गोरैया आधारभूत विद्यालयमा प्रदेश सरकारले प्रदान गरेको १५ लाख रकमबाट विद्यालयको ब्राउण्ड्री वाल र ग्रिल गेट निर्माण भएको छ ।
प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयबाट प्रदान गरेको रकमबाट विद्यालयको ग्रिल गेट र बाउण्ड्री वाल निर्माण भएपछि विद्यालय सुरक्षित भएका छन् ।

भारतीय सीमानासँग जोडिएको उक्त विद्यालयमा वाउण्ड्री वाल र ग्रिल गेट निर्माण हुनुभन्दा अघि विद्यालयको सरसामान चोरी हुनुको साथै चौपाया लगायत स्थानीयको ओहोर दोहोर एवम् कोलाहलको कारण विद्यालयको पठन पाठन प्रभावित हुँदै आएको विद्यालयको प्रधानाध्यापक सत्यदेव यादवले बताउनुभयो ।

शहरी इलाका भन्दा धेरै पर रहेको उक्त विद्यालयमा करिव तीन सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन् । पाँच कक्षासम्म संचालन भइरहेको उक्त विद्यालयमा शिक्षक अभावमा पठन पाठन चाहे अनुसार हुन नसकेको अभिभावकहरु वताउँछन् ।

विद्यालय शैक्षिक आर्जन गर्ने थलोको रुपमा रहेपनि उक्त विद्यालयमा शिक्षकहरुको संख्या एकदमै न्यून रहेको छ । शिक्षक अभावमा विद्यार्थीहरुको पाठन पाठनमा समस्या भइरहेकोले स्थानीय, प्रदेश र संघीय सरकारसँग शिक्षकहरुको परिपूर्ति गरिदिन स्थानीय अभिभावकले जोडदार माग गरेका छन् ।























