मोरङ,माघ २४ गते – सुन्दरहरैचा नगरपालिका– ७ स्थित विश्वकर्मा मन्दिर अगाडि सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, एभिल ९ एम्पुल, फेनारगन १० एम्पुल र लुप्रिजेसिक १० एम्पुल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका– १ बस्ने ३६ वर्षीय सुरज गुरुङ, केरावारी गाउँपालिका– १० बस्ने २५ वर्षीय तेज कुमार मगर र सोही गाउँपालिका– ७ बस्ने २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् । बेलबारी नगरपालिका– ३ बस्ने ४३ वर्षीय रिक्तमान गुरुङले सोही नगरपालिका(१ स्थित सिनेमा हल अगाडि पार्किङ गरी राखेको प्रदेश नम्बर ३– ०१– ०२५ च ९७५० नम्बरको कार सुरज गुरुङले चोरी गरी लगेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कार खोजतलास गर्नेक्रममा कारमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
घोराही उपमहानगरपालिका– १४ बसपार्कबाट ७ केजी ७ सय ७९ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने रुकुम पूर्व भुमे गाउँपालिका– ९ चुङवाङ बस्ने ५० वर्षीय दल बहादुर कामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कामीले आफ्नो डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















