सिरहा, माघ २० गते। गोलबजार नगरपालिका–९ घुर्मी खोलामा पूर्व–पश्चिम राजमार्गसंगै टाँसेको कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) २ वर्षदेखि बिनादर्ता सञ्चालन चलिरहेको छ। क्रसर उद्योग आन्तरिक राजस्व कार्यालयको अभिलेखमा समेत नरहेको दर्ताबिना सञ्चालित क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्ने, प्रशोधन गर्ने र क्रसिङ गर्ने काम गर्दै आईरहको को छ।
यस उद्योगले सरकारी नियम लत्याएको मात्र छैन राजस्व समेत छलिरहेको छैन स्थानीय तह, स्थानीय प्रशासन र प्रहरी मूकदर्शक बनेर उद्योगको मनपरीलाई धाप दिँदै आएको छ। गोलबजार नगरपालिका–९ स्थित घुर्मी पुलमै टाँसिएको शिवम् क्रसर उद्योगले पनि कानुनको धज्जी उडाउन थालेको ७ वर्ष भइसक्यो। तर नियामक निकायले यसलाई कानुनी दायरामा ल्याउन कुनै कदम चालेको छैन।
गोलबजार–९, घुर्मी खोलाको पूर्वी किनारमा पुष्पदिप गिट्टी बालुवा प्रशोधन केन्द्र (क्रसर) सञ्चालनमा छ। खोलाको पूर्वी किनारमा सञ्चालित यो उद्योगले पनि कानुनको खिल्ली उडाउन थालेको ३ वर्ष भइसक्यो। कर्जन्हा नगरपालिकास्थित जानकी क्रसर उद्योग चुरेको फेदमै सञ्चालित छ। यो उद्योग कानुन मिचेर सञ्चालनमा आएको दशक भयो। जिल्लाका प्रशासक र यो क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखको इच्छाअनुसार यो उद्योग चल्ने र बन्द हुने गरेको छ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि क्रसर उद्योग सबैभन्दा बढ्ता फस्टाएको पालिका कर्जन्हा र धनगढीमाई हुन्। जनप्रतिनिधि आएपछि जिल्लामा १० वटा क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र दर्ता भएका छन्। जसमध्ये ६ वटा धनगढीमाई नगरपालिकामा दर्ता भई सञ्चालनमा छन्।
ढुंगा, रोडा उद्योग ९क्रसर० स्थापनासम्बन्धी ऐनअनुसार यी उद्योग कानुनविपरीत सञ्चालन भइरहेका छन्। यहाँका क्रसर उद्योग मात्र कानुन विपरीत छैनन्, सरकारी निकायले समेत कानुन मिचेर दर्ता अनुमति दिएको पाइएको छ। क्रसर वा बालुवा प्रशोधन उद्योगको दर्ता अनुमति दिने क्रममा स्थानीय तहदेखि घरेलु कार्यालयसम्मले कानुन मिचेको पाइएको छ।
२०७५ भदौ ३ गते घरेलु तथा साना उद्योग कार्यालय लहानले गोलबजार नगरपालिका–९ मा पुष्पदिप बालुवा–गिटी प्रशोधन केन्द्रलाई दर्ता अनुमति दिएको छ। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय लहानले २०७५ साउनमा गोलबजार नगरपालिका–८ स्थित गोलबजार गिटी–बालुवा उद्योगलाई अनुमति दिएको छ।
सोही अवधिमा धनगढीमाई नगरपालिका–९ मा भीम बालुवा गिटी प्रशोधन केन्द्र र धनगढीमाई नगरपालिका–१३ मा लरुख भगवती गिटी बालुवा प्रशोधन उद्योगलाई अनुमति दिएको छ। धनगढीमाई–८ स्थित तिरूपति वालुवा प्रशोधन उद्योगलाई कानुन मिचेर कसहा खोलाको पश्चिमी किनारमै सञ्चालन अनुमति दिइएको छ। यो उद्योगको पश्चिमतिर बाक्लो मानव बस्ती छ।
अनुमति नै कानुनविपरीत दिएपछि यस भेगका क्रसर उद्योगको सञ्चालन पनि कानुन विपरीत हुनु स्वाभाविक ठान्छन् स्थानीय। चार किल्ला प्रमाणित गर्ने बेला स्थानीय निकायबाट कानुन मिच्न सुरु हुन्छ र दर्ता गर्ने घरेलु तथा साना उद्योग कार्यालयमा यो प्रक्रिया सकिन्छ। त्यसपछि स्थानीय प्रशासन र प्रहरीलाई मिलाएर मनपरी ढंगबाट क्रसर सञ्चालन हुने स्थानियले जनाउनु भयो ।




















