काठमाडौं,माघ २० गते – अध्यागमन विभागले साउदी अरेबिया, दुबइ, कम्बोडिया र ओमान हिँडेका ७ जना नेपालीलाई प्रस्थान अनुमति नदिइ फिर्ता गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद् यात्रा भन्दै उनीहरुलाई बुधबार प्रस्थान अनुमति नदिएको हो ।
अध्यागमनले दुबइ हिँडेकी ललितपुरकी ममता केसी, मालती केसी र एलेक्स गौतम, कम्बोडिया हिँडेका नुवाकोटका लासिङ तामाङ र सिन्धुपाल्चोकका गणेश तामाङ, साउदी अरब हिँडेका कालीकोटका नरेन्द्र बहादुर शाही र ओमान हिँडेका स्याङ्जाका शिव रानाभाटलाई ‘शंकास्पद’भन्दै यात्रा रोकेको हो । अध्यागमनले श्रम भिसामा साउदी अरेबीया जान लागेका शाहीकोको श्रम स्वीकृति नभएपछि फिर्ता गरिदिएको स्रोतले बताएको छ । आवश्यक कागजात र भिजिट भिसामा भ्रमण गर्नुको उद्देश्य प्रष्ट पार्न नसकेपछि अध्यागमनका अधिकारीले उनीहरुलाई फिर्ता गरेको हो ।
गृह मन्त्रालयले मापदण्ड नपुगेका यात्रुहरुलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएको छ । घुम्ने वहानामा काम गर्न मलेसिया र खाडी मुलुक जाने क्रम बढेपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिको यात्रामा कडाइ गर्न अध्यामगन विभागलाई निर्देशन दिएको थियो । त्रिअवी अध्यागमन कार्यालयले भिजिट भिसामा कडाई गरेपनि एयरलाइन्सहरुले बोर्डिङ पास दिन रोकेका छैनन् । मावन तस्करहरुको सञ्जालले एयरलाइन्सका अधिकारीहरुसँग समेत मिलेमतो गरेको स्रोतले बताएको छ ।
विमानस्थलका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, भिजिट भिसामा सरकारले रोक लगाएपछि एयरलाइन्सहरुले बोर्डिङ पास दिनु हुन्न। सम्बन्धित एयरलाइन्सले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जाने यात्रुलाई सहजै बोर्डिङ पास दिन्छन् । गृहले बनाएको मापदण्ड एयरलाइन्सहरुका लागि पनि हो ।’ म्यानपावर व्यवसायीसँग मिलेमतोमा एयरलाइन्सका कर्मचारीहरुले बोर्डिङ पास दिने गरेको स्रोतले बताएको छ । गृहको निर्देशनसँगै अध्यागमनका अधिकारीहरुको म्यानपावर व्यवसायी र एयरलाइन्सका कर्मचारीसँगको सेटिङ टुटेको र अध्यागमनका डेस्क अधिकृतबाट हुने तस्करी ९० प्रतिशतले रोकिएको गृहका एक अधिकारीले बताए । अझै केही अध्यागमनका अधिकृतहरुको मिलेमतो देखिएको छ, त्यसलाई पनि हामी रोक्ने प्रयास गरिरहेका छौं, ुउनले अन्नपूर्णसँग भने । रोकिएको आवश्यक सोधपुछ विनै केही एयरलाइन्सका कर्मचारीले बोर्डिङ पास दिएर मानव तस्करीमा सहयोग पुर्याएको पाइएको र त्यसबारे सुस्म अनुसन्धान समेत भइरहेको विमानस्थल प्रहरी स्रोतले बताएको छ




















