इटहरी,माघ १९ गते – सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ।
नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसँगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षण कार्यक्रमपछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफुलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए। उनले भने, अहिलेसम्म फोटोग्राफीका बारेमा राम्रो जानकारी नै नभएको आफूलाई महसुस भएको छ। यो तालिमले फोटो पत्रकारिताको कखरा सिकाएको छ।
पत्रकार सुवेदीले पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन र पेशागत दक्षता अभिवृद्धि गर्न मद्दत पुर्याएको बताए। त्यसैगरी, ग्यालेक्सी टेलिभिजनका पत्रकार प्रकाश तिम्सिनाले प्रशिक्षण कार्यक्रमले आफूलाई व्यावसायिक रुपमा फोटो पत्रकारिता गर्न मद्दत पुगेको बताए। उनले भने, प्रेस युनियनले सारै राम्रो काम गरेको छ। पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन यो प्रशिक्षणले महत्त्वपूर्ण सहयोग गरेको छ।
पत्रकारको प्राविधिक र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रम प्रेस युनियनले मात्र नभएर अन्य संघ संगठनले पनि ल्याउनु पर्नेमा तिम्सिनाको जोड थियो। कार्यक्रममा बोल्ने अन्य प्रशिक्षार्थीहरुले समेत यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा संचालन हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेको प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीका रुपमा सहभागी रहेको थियो।
प्रशिक्षण कार्यक्रममा कस्तो विषयवस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वन्तले सहजीकरण गरेका थिए। त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजीकरण गरेका थिए। सुनसरीका पत्रकारका लागि कोरोना कहरका समयमा, दुर्घटना विमा, खाद्यान्न राहत, स्वास्थ्य सुरक्षा सामाग्री मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरणदेखि संक्रमित बन्न पुगेका पत्रकारलाई मोबाइल डाक्टर कार्यक्रम सञ्चालन गरेर संक्रमितको घरघरमा औषधि उपचार व्यवस्था मिलाउने काम विगतमा गरिएको स्मरण गर्दै नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुको दक्षताका लागि समेत तालिम प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार प्रशिक्षण राखिएको अध्यक्ष पवन अधिकारीले बताए।
प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, इक्वाल अहमद, प्रदेश सचिव सन्तोष यादव, नेपाल प्रेस युनियन प्रदेश सचिव धनबहादुर पुरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला, प्रेस युनियन सुनसरीका उपाध्यक्ष सञ्जिव वाग्ले र वरिष्ठ फोटोग्राफर विसप ताम्राकार लगायतले कार्यक्रमको प्रभावकारिताका विषयमा आफ्नो धारणा राखेका थिए




















