सिरहा,माघ १८ गते । वर्षौदेखि वर्षाको बेला आउजाउमा समस्या झेलिरहेका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ स्थित सिमराहाका स्थानीयलाई गाउँमा सडक ढलान भएपछि खुशी भएका छन् ।
प्रदेश नं. २ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको चालिस लाखको सहयोगमा हिल्लामे हुने सडकमा तीन सय साठी मिटर लम्बाई र ६ ईन्च मोटाई रहेको पक्की ढलान भएपछि उक्त बाटो भएर आउ जाउ गर्नेहरुको लागि सहज भएको हो ।

ढलान नहुदा वर्षामा हिलोसँगै जताततै खाल्डा खुल्डीका कारण आउजाउमा समस्या भइरहेको बेला प्रदेश सरकारबाट आएको रकमबाट सडक ढलान भएपछि हिडडुल गर्न सहज हुनुको साथै गाउँमा भोज भतेरको बेलामा पनि ढलानले सहयोग गरिएको स्थानीय बताउँछन् ।
सखुवानान्कारकट्टी गाउँपालिकाका वडा नं. ३, ४ र ५ नं. वडाको स्थानीयको आउजाउ गर्ने मुख्य बाटोको रुपमा रहेको उक्त सडक यसअघि पूर्ण रुपमा जीर्ण भएको थियो । ढलान भएपछि स्थानीयलाई आउजाउमा सहज मात्र भएको छैन अन्य पालिकाका स्थानीयलाई समेत सडक ढलानले सहजता प्रदान गरेको छ ।





















