वीरगञ्ज,माघ १३ गते – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।

कलैया(वीरगञ्ज सडक खण्डको कलैया– ५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना. ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।

नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ