पर्सा,माघ ११ गते – जगरनाथपुर गाउँपालिका– ६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका(६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् । उनीहरुमध्ये गोवरी राउत, नग राउत र शत्रुधनलाई शनिबार तथा मनमोहन र रोहनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जगरनाथपुर गाउँपालिका– ६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टु प्रसादको हत्या भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका(६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




















