सिरहा,माघ ९ गते । वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन् । यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर अघि बढाएको कामलाई वर्तमान सरकारले स्वामित्व लिएपछि यो वातावरण बनेको बर्दिबास नगर कार्यपालिकाले जनाएको छ ।
“यसअघिको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरे पनि त्यसबेला भएका कामको स्वामित्व लिएपछि अब लालपुर्जा वितरण गर्ने गरी काम बढेको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले भन्नुभयो, “अब नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै आफ्नो घरजग्गाको लालपुर्जा पाउनेछन् ।” यसअघि लगत सङ्कलन र जग्गा नापको काम सम्पन्न भएको र अहिले लालपुर्जा र नक्सा बन्ने काम अघि बढेको हुँदा अब चाँडै वितरण गरिने उहाँको भनाइ छ ।
“विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या समाधान आयोग ताहचाल काठमाडौँ र बर्दिबास नगर कार्यपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएलगत्तै काम अघि बढेको थियो”, उहाँ भन्नुहुन्छ, “यसलगत्तै हामीले भूमिसम्बन्धी स्थितिको आधारभूत अध्ययन गरेर सम्बन्धित प्लटप्लटमै पुगेर जग्गा नापजाँच ग¥यौँ, ती कामलाई अहिलेको सरकारले स्वामित्व ग्रहण गरिदियो, अब काम बढ्यो ।” चाँडै लालपुर्जा वितरण गरिने गरी काम अघि बढेको कार्यकारी अधिकृत पराजुलीको भनाइ छ ।




















