सिरहा,माघ ७ गते । अबैध रुपमा लुकाई छिपाई राखिएको अबस्थामा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ सिमलटोकीबाट तीन लाख ७० हजार मूल्य बराबरको सालको काठ सहित ३ जनालाई डिभिजन वन कार्यालय सिरहा, लहानले पक्राउ गरेको छ ।
वन कार्यालयका रेञ्जर देबेन्द्र पासवानको नेतृत्वमा खटिएको गस्ति टोलीले सो ठाउँमा छापा मार्दा काठको काम गरिरहेको अबस्थामा अवैध काठसहित स्थानीय देब नारायण महतो,श्याम सुन्दर महतो र सोही नगरापालिका वाड नं. ४ वस्ने प्रविण महतोलाई पक्राउ गरिएको जनाइएको छ ।
डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख सुभाषचन्द्र दासका अनुसार आँपको बंगैचाको विभिन्न ठाँउबाट लुकाई छिपाई राखेको अबस्थामा झण्डै ५६ क्यू.वि.फिट साल काठ सहित तीन जना पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकाहरुलाई थप कार्वाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ ।
बजार भाउ अनुसार सालको काठ प्रति क्यू वि.फिट. ६ हजार ६ सयको दरले बिक्री भइरहेको छ । वन कार्यालयको सक्रियतासँगै पछिल्लो दुई महिनामा वन कार्यालयले झण्डै ८ लाख पचास हजार भन्दा बढी मुल्यको अवैध काठ पक्राउ गरिएको छ ।




















