सिरहा, माघ ४ गते – प्रत्येक वर्ष माघ ५ गते लहानको रमेश महतो शहिद पार्कमा मनाउने बलिदानी दिवसको दुई दिन अघि प्रदेश २ को नामाकरण मधेस प्रदेश गरेकोमा मधेस आन्दोलनको त्रक्रममा लहानमा ज्यान उत्सर्ग गर्ने पाँच शहिद परिवारमा खुसी छाएको छ । उत्साहित भएर लहानस्थित शहिद पार्कलाई जनता समाजवादी पार्टीका नेता रङगरोङगन र सरसफाई गरेका छन् ।

माघ ३ गते नै प्रदेश –२ को नामाकरण मधेस प्रदेश घोषणा हुने बित्तिकै जसपाका नेताले शहिद पार्कमा दिपावली गरेका थिए भने माघ ५ गते पार्टी अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम तय भएको जसपा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले जानकारी दिनुभयो । २०६३ माघ ५ गते रमेश महतो सहादात प्राप्त गरेपछि मधेस आन्दामेलन उत्कर्षमा पुगेको थियो । आन्दोलनकै क्रममा प्रमोद सदाय, बेचन यादव , विजय सहनी र अनिस अन्सारीले प्रहरीको गोली लागेर ज्यान गुमाउनु भएको थियो । पाँचै जना शहिदको सम्झनामा लहानको रमेश महतो शहिद पार्कमा बलिदानी दिवस मनाइन्छ ।

रमेश महतोको पिता रयिबा महतो, प्रमोद सदायका पिता बालेश्वर महतो, बेचन यादवको पत्नी रामपरी यादव र मोहम्मद अनिसको पिता मो। मुस्तकिङगले परिवारको बलिदानीको कदर भएको बताउनुभएको छ । ‘मधेस’ प्रदेश बनेपछि बलिदानीको फल प्राप्त भएको उहाँहरुको भनाइ छ । लहानमा बृहत्त शहिदपार्क निर्माण गरेर मधेस आन्दोलनका जननी रहेको लहानलाई वेवास्ता गर्न नमिल्ने तर्क मानवअधिकारवादी राजकुमार राउतको रहेको छ । मधेस प्रदेश र जनकपुर राजधानी भएकोमा हामी लहानवासी खुसी नै छौँ तर लहानको विकास र शहिद पार्क निर्माणमा प्रदेश सरकारको ध्यान जाओस हाम्रो माग रहेको पत्रकार शिवकुमार साहको भनाइ छ