काठमाडौं,पुष २९ गते –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनाएको छ।

मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरलाई  रेड जोनुमा राखेको छ। ५ सय बढी सक्रिय संक्रमित रहेको जिल्लाई मन्त्रालयले रेड जोनमा राख्ने गरेको छ। देशभरि कोरोनाको कूल १६।९ संक्रमणदरमध्ये काठमाडौंमा उच्च रहेको मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ। 

पछिल्लो तथ्यांकअनुसार देशभरि दैनिक तीन हजार बढी संक्रमित भेटिन थालेका छन्। तीमध्ये आधाजति काठमाडौं उपत्यकाकै हुने गरेका छन्। बुधबार संक्रमित ३ हजार ७५ मध्ये १४९८ काठमाडौं उपत्यकाका रहेका थिए। यी तथ्यांक हेर्दा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ।  यसैबीच काठमाडौंमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, नेपाल एपीएफलगायत अस्पतालमा संक्रमितको चाप बढ्न थालेको छ। ती अस्पतालमा संक्रमित विरामीको संख्या बढे पनि गम्भीर बिरामी भने पुगेका छैनन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। संगिता कौशल मिश्रले संक्रमितको संख्या बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक रहेको बताइन्। ‘भौतिक दूरी, मास्कको समूचित प्रयोग र व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ। संक्रमणदर बढ्दै गएकाले विशेष सावधानी अपनाउन आवश्यक छ,’ उनले भनिन्।

तेस्रो लहरको संकेत

संक्रामक रोग विशेषज्ञ प्रा।डा। जनक कोइरालाले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यो तेस्रो लहर हो कि होइन भन्ने कुरा यो लहर सकिएपछि आँकलन गर्न सकिने बताए। ‘तेस्रो लहर, दोस्रो लहर, पहिलो लहर भनेर जुन भनिन्छ। यसलाई इपिडिमियोलोजिकल कर्भ भनिन्छ। पहिले बढेर जान्छ फेरि घट्छ। ग्राफमा प्लट गर्दा देखिने कर्भ हो। तर यो तेस्रो लहर हो कि होइन भन्नेचाहिँ यो सकिएपछि मात्रै पक्का गर्न मिल्छ  उनले भने। उनले कोरोना संक्रमण ह्वातै बढेकाले यसलाई तेस्रो लहरको रुपमा अन्दाज गर्न सकिए पनि एकीनका साथ भन्न नमिल्ने बताए