काठमाडौं,पुष २४ गते –  नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। 

नेपाल–भारतबीच हुने कुनैपनि किसिमका उच्चस्तरीय भेटवार्तामा नयाँ हवाइमार्गको सम्बन्धमा छलफल हुने गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्। आगामी आइतबारदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पनि यो मुद्दाले प्रवेश पाउन सक्ने बताइएको थियो। तर, प्रधानमन्त्रीको भ्रमण नै रद्द भएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि यो विषयमा सरकारले छलफल गरेको थियो। तर, हालसम्म भारतले आश्वासन मात्रै दिँदै आएको छ। नेपालले माग गरे अनुसार भारतले नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराएको अवस्थामा उडान खर्च र समयको बचत हुनुका साथै हवाई ट्राफिक जामको समस्या पनि समाधान हुने सहसचिव लामिछाने बताउँछन्। 

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन् भने चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। नेपाल बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग रहेको छ। प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता नेपालले भोग्दै आएको छ। हाल प्रयोग भइरहेका रुटबाहेक थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने बताइन्छ। कम्तीमा भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्ने छ। भैरहवा रुटबाट जहाजले प्रवेश विन्दु पाउने हो भने भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो दूरी पर्नेछ। काठमाडौं विमानस्थल आउन पनि भैरहवाको रुट छोटो पर्ने प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णको भनाइ छ। 

सहमतिको पर्खाइमा रहेका नयाँ हवाई प्रवेश मार्ग उपलब्ध हुँदा दीर्घकालीन रूपमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ विमानस्थल फाइदामा जाने देखिन्छ।  गौतमबुद्ध विमानस्थलको निर्माण कार्य ९८।७६ प्रतिशत सम्पन्न भएको छ। आगामी ३ महिनामा औपचारिक उडानमा जाने गरी पर्यटनमन्त्री प्रेमबहादुर आलेले निर्देशन पनि दिइसकेका छन् भने आउने एक महिना टेस्ट उडान (क्यालिब्रेसन उडान) को तयारी रहेको छ।  यस्तै, पोखरा विमानस्थलको निर्माण कार्य ८९ प्रतिशत सम्पन्न भएको छ। आगामी एक वर्षमा संचालनको तयारीसहित अहिले काम अघि बढाइएको प्राधिकरणले बताएको छ। निजगढ विमानस्थलको भने गुरुयोजना तयारीको काम ८० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ