सिरहा,पुष २४ गते – सप्तरीको राजगढ गाउँपालिकास्थित बनैनियाबाट प्रहरीले दुई यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोकिसभन ४०८ र नाइट्राभेट १० चार थान र डाइलेक्स डिसि १०० एमएल चार बोतल बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ भारतीय सीमासँग जोडिएको बनैनिया क्षेत्रहुँदै लुकिछिपि साइकलमा आउँदै गरेका उनीहरुलाई गस्ती टोलीले चेकजाच गर्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई शुक्रबार लागुऔषध मुद्दा शिर्षक अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ




















