सिरहा,पुष २२ गते – धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीको फन्दामा परेका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं.१ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव सो परिमाणको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले टुडेपाटीलाई जानकारी दिए ।
प्रदेश २–०२–०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ट्यांकी भित्र चेकजाँच गर्दा यादवसंग स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद भएको डिआइजी ठाडाले बताए । पक्रउ यादवमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनी हुण्डीकारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।




















