सिरहा,पुष २२ गते – कास्की जिल्लाको विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका– १ बस्ने १९ वर्षीय आशिष अर्याल, पोखरा महानगरपालिका– १३ काउँखोला बस्ने २५ वर्षीय अनिष खत्री र बाग्लुङ, बाग्लुङ नगरपालिका– ८ बस्ने १७ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरुमध्ये अर्याललाई पोखरा महानगरपालिका– २५ हेम्जाबाट नियन्त्रित लागूऔषध ६५ एम्पुल डाईजापाम, ६८ एम्पुल फेनारगन र ७३ एम्पुल नर्फिन, खत्रीलाई सोही महानगरपालिका– ३० पावरहाउसबाट नियन्त्रित लागूऔषध १५ एम्पुल डाईजापाम, १५ एम्पुल फेनारगन र १५ एम्पुल नर्फिन र किशोरलाई सोही ठाउँबाट नियन्त्रित लागूऔषध ३२ एम्पुल डाईजापाम, ३२ एम्पुल फेनारगन र ३२ एम्पुल नर्फिन सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मनहरी गाउँपालिका– ९ खरंगाबाट करिब ४५ किलो अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका– २ बस्ने ४२ वर्षीय भक्त बहादुर थापा मगर र मनहरी गाउँपालिका(५ बस्ने ४१ वर्षीय हिरालाल गुरुङ रहेका छन् । बोरा बोकी हिँडिरहेका ३ जनाले ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ बोरा फाली भाग्न खोज्दा थापा र गुरुङलाई नियन्त्रणमा लिएर बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालगंज उपमहानगरपालिका– २१ पुरैनीबाट २४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपलिका– ६ फुलटेग्रा बस्ने २१ वर्षीय प्रमोद सोनखरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ




















