सिरहा,पुष २१ गते – चोरीपैठारी तथा राजस्व चुहावट रोक्न स्थापित संयन्त्र र कानुनी व्यवस्थालाई सीमा आरपार तस्करी गर्ने गिरोहले प्रभावहीन पारेको तथ्यांकले देखाएको छ। पोके तस्कर र साइकल तथा मोटरसाइकलमा अवैध ओसारपसार गर्नेहरू समातिने क्रम छँदै थियो, अहिले तस्करीमा संलग्न भएको भनी एकपछि अर्को ट्रक नै प्रहरी नियन्त्रणमा पर्दै छन्।
बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि भरेर पोखरा जाँदै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई वीरगन्जको घण्टाघरबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो। उक्त ट्रकलाई रोकेर जाँच गर्ने क्रममा पूर्व सूचनाअनुरूप भन्सार छली ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको हुँदा उक्त ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा जिल्ला प्रहरी कार्यालय पर्साले बुझाइएको प्रहरीले जनाएको छ।
चालक चितवनको राप्ती नगरपालिका–४ बस्ने वर्ष ३२ का सुरेशकुमार लामालाई समेत नियन्त्रणमा लिई प्रहरीले राजस्वलाई बुझाएको ट्रक तथा सामानको मूल्यांकन ६५ लाख आँकलन गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्। सअघि गत बिहीबार बिल–बिजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लैजाँदै गरेको प्रदेश नम्बर २–०३–००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्दा भन्सार छली ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको प्रहरीले जनाएको थियो। वीरगन्ज–२१ परवानीपुर चोकमा जाँच गर्ने क्रममा सूचना अनुरूप नै सामान फेला परेको प्रहरी भनाइ छ। चालक बारा परवानीपुर–२ बस्ने वर्ष ३३ को नसरुद्दीन मियाँलाई समेत नियन्त्रणमा लिई उनीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको उक्त ट्रक तथा मालवस्तुको समेत गरी प्रहरीले ६० लाख मूल्यांकन गरेको खनालले जनाए।
त्यसभन्दा ६ दिनअघि पुस ९ गते वीरगन्ज–८ घण्टाघरबाटै बिल–बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तु लोड गरी मकवानपुर हेटौंडा लैजाँदै गर्दा एउटा मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ना३ख ७४८ नम्बरको मालवाहक मिनी ट्रक र सामानको मूल्यांकन २५ लाख पर्सा प्रहरीले गरेको छ। भन्सार छली ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामान फेला परेको हुँदा उक्त मिनी ट्रक तथा चालक मकवानपुरको हेटौंडा–१० का वर्ष ३७ का प्रेमबहादुर स्याङ्बो तामाङलाई नियन्त्रणमा लिई अर्को दिन १० गते राजस्वलाई बुझाएको खनालले बताए। अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयको जिम्मा दिएको मिनी ट्रक र मालसामानको मूल्यांकन २५ लाख रुपैयाँ छ।
त्यसअघि मंसिर २३ मा राजस्व छली भएको भनेर सामान र ट्रक प्रहरीले समातेको थियो। बिल–बिजकभन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तु लोड गरी पोखरातर्फ लग्दै गरेको सूचना प्राप्त भई समातिएको ट्रकसँगै चालक समातिएका थिए। त्यो ट्रक र चालक पनि अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो। मंसिर १ मा पनि यसै गरी राजस्व छली भएको भनेर सामान, ट्रक र चालक प्रहरीले समातेर राजस्व अनुसन्धानलाई बुझाएको थियो।
५० दिनयता समातिएका पाँचवटा ट्रकमा कति मूल्य बराबरको राजस्व छलीको सामान भेटिएको भन्ने यकिन जानकारी अनुसन्धान पूरा भएपछि मात्र खुल्नेछ। यी घटनामा अनुसन्धान बाँकी रहे पनि यसअघिका यस्ता मामिलामा अधिकांशमा गडबडी भेटिएको तथ्य रहेको प्रहरी अधिकृतले बताए। मंसिर ८ मा लागु औषध ओसारपसारमा संलग्न २ वटा ट्रक पनि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको थियो। ‘हामीलाई सूचना आएपछि ट्रकहरू नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि पठाउने गरिएको छ,’ पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले भने, ‘हामीले यसको जानकारी पनि सार्वजनिक गर्ने गरेका छौं




















