सिरहा,पुष २० गते — कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका छन् । यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १स्२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका छन् । ‘गालीगलौज गर्दै तिमीले सरुवा गरायौ, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘तत्कालै नजिकको प्रहरी चौकीहरूबाट आएका प्रहरी प्रशासनले उक्त आक्रमण प्रयासलाई विफल गराउँदै घर अगाडीबाट एसपी पाण्डेलाई गाडीमा लगेका थिए ।
यसैबीच प्रहरीको धम्कीप्रति विरोध जनाउँदै कांग्रेस कार्यकर्ताहरूले आइतबार मध्यान्ह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाइल खण्ड एक घण्टासम्म अवरोध गरेका थिए । उनीहरूले टायर बालेर राजमार्गमा अवरोध पुर्याएका थिए । कांग्रेस सिरहाले विज्ञप्ति जारी गरी प्रहरी प्रमुख जस्तो व्यक्तिको गैरजिम्मेवार व्यवहार र ज्यानै मार्ने किसिमले गरेको घटनाको भर्त्सना गर्दै तत्कालीन प्रहरी प्रमुख एसपी पाण्डेलाई अबिलम्व कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले एसपी हिरा बहादुर पाण्डे सोमबार बिहानै रमाना लिएर काठामाडौं गइसकेकाले यसबारे आफूले केही भन्न नसक्ने बताए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले घटनाको बारेमा प्रहरी मूख्यालयबाटै छानबिन भइरहेकाले यसबारेमा आफूलाई थाहा नभएको बताए । घटनाको बारेमा बुझ्न प्रदेश २ प्रहरी कार्यालयका डिआइजी उमेश रन्जितकार सोमबार यादवको जिरोमाइलस्थित घरमा पुगेका थिए । प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सरुवा भई जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।




















