सिरहा,पुष १९ गते – झापाको मेचीनगर नगरपालिका– ६ बसपार्कबाट ४४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मोरङ रतुवामाई नगरपालिका– ५ बस्ने २६ वर्षीय लावन हाङ राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बैजनाथ गाउँपालिका– १ तल्लो गाभर बस्ने ३१ वर्षीय सूर्य रोकायलाई ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनले घरमा लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
ईटहरी उपमहानगरपालिका– २० तरहरा चोकबाट ७२ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा सहिदभुमी गाउँपालिका(१ बस्ने २४ वर्षीय बिक्रम राई र सोही ठाउँ बस्ने ३३ वर्षीय संजिव राई रहेका छन् । प्रहरी चौकी तरहराबाट चेकीङमा खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश १–०२–०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक बिक्रम र मोटरसाइकलमा सवार संजिवलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















