गौर,पुष १५ गते – सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने बन्दको प्रभाव रौतहटमा आंशिक रुपमा परेको छ ।

समयमा मलखाद तथा बीउ विजनको व्यवस्था गर , सिंचाईको व्यवस्था तथा किसानका लागि निःशुल्क विद्युतको व्यवस्था गर , हावा हुरी , वर्षा तथा मौसमको कारणले हुने बाली नाली क्षतिको उचित राहतको व्यवस्था हुनु पर्ने , बालीको उचित मूल्य कायम गर्नु पर्ने , उंखु किसानको बांकी रकम भुक्तानी गर्नु पर्ने, पक्राउ परेका आन्दोलनकारीलाई रिहा गर्नु पर्ने माग राखी जनमतले रौतहट जिल्ला बन्दको आह्वान गरेको थियो ।

बन्दको कारण सदरमुकाम गौरदेखि चल्ने लामो तथा छोटो दुरीको सवारी साधन नचलेको कारण यात्रुहरुलाई सास्ती खेप्नु परेको थियो । बन्दलाई सफल पार्न बुधबार बिहानदेखि जनमतका कार्यकर्ताहरुले ठाउं, ठाउंमो बाटो अवरुद्ध गरेर प्रदर्शन समेत गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै एउटा टिपरमा कार्यकर्ताहरुले तोड फोड गरेको छ । टिपरको अगाडिको सिसा फुटेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रदर्शन गर्ने क्रममा जनमत पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय गरी १२ जना कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएको कार्यकर्ताहरुलाई बेलुका छाडिएको जिप्रका रौतहटले जनाएको छ