सिरहा,पुष १३ गते – जानकी मन्दिरको विद्युत् बक्यौता ८१ लाख रुपैयाँ नाघेको छ। जानकी र सँगै रहेको लक्ष्मण मन्दिरले २०७१ सालपछि महसुल तिरेका छैनन्। लामो समय बक्यौता रहेका कारण नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा मन्दिरको लाइन नै काटिदिने गरेको छ। पछिल्लो समय चाडपर्वमा जेनरेटर प्रयोग गरी बत्ती बाल्ने गरिएको छ। तर, मन्दिर व्यवस्थापनले पुरानो बक्यौता तिर्न चासो देखाएको छैन।
भक्तजनले चढाएको भेटी, विवाह मण्डपको टिकटबाट आउने आम्दानी, विद्युतीय चलचित्र म्युजियम, दर्जनभन्दा बढी पोखरी र सटर भाडाबाट वार्षिक डेढ करोडभन्दा बढी आम्दानी हुनेगरेको छ। ‘भेटी र पूजापाठबापत आउने रकमबाट महसुल बुझाउने गरी व्यवस्था गरिदिन हामीले विद्युत् कार्यालयलाई भनेका थियौं,’ जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णव भन्छन्, ‘विद्युत् कार्यालयले सुविधाजनक रूपमा लिन नमानेपछि महसुल बुझाउन नसकेका हौँ।’
नौलखा दरबारलाई झिलिमिली पार्न प्रदेश २ सरकारले १३ करोडभन्दा बढी रुपैयाँ खर्चेर विद्युतीकरण गरेको छ। तर पनि उचित व्यवस्थापन हुन सकेको छैन। यसले गर्दा मन्दिरभित्र चोरी र पाकेटमारीका घटनाहरूमा बढेका छन्। मन्दिरभित्र बिजुली नियमित नहुँदा आपराधिक गतिविधि बढेको धनुषाका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।
बारम्बार ताकेता गर्दासमेत मन्दिरले विद्युत् महसुल तिर्न अटेर गरिरहेको विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिक बताउँछन्। अन्तिम उपाय विद्युत्को लाइन नै काट्नु रहेको उनले बताए। ‘चेतावनीस्वरूप पटक–पटक विद्युत् अवरुद्ध गरिसकेका छौं। तर, धार्मिकस्थल भएकै कारण सामाजिक दबाबले गर्दा पूर्ण रूपमा लाइन काट्न सकेका छैनौं,’ उनले भने।




















