सिरहा,पुष ११ गते– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहड्ताल उल्लंघन गरेको भन्दै सिरहास्थित चोहर्वामा ट्रकमा आगजनी गरेका छन् । आगजानीका कारण ट्रक जलेर नष्ट भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ख.५५२२ नं. ट्रकमा जथाभावी ढुंगा प्रहार गर्न थालेपछि आफू बाहिर निस्किने वित्तिकै आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेको ट्रक चालकले वताए । आन्दोलनकारीहरुले गोलबजार, मिर्चैया लगायतको ठाउँमा दुई दर्जन भन्दा सवारी साधनमा तोडफोड गरी क्षति पुर्याएको छ ।

बजार पसलसँग सवारी साधनहरु चलाउने र खुलाउने क्रममा गोलबजारमा बन्दकर्ता र प्रहरीबीच पटक पटक झडप भएको थियो । बन्दकर्ताहरुले गोलबजारस्थित प्रहरी बीटमा समेत क्षति पुर्याएको छ । बीचबाटैमा रोकिराखेको सवारी साधनलाई प्रहरीले स्कटींग गरी गन्तव्यतर्फ पठाइरहेको छ ।
प्रहरीमाथि ढुंगामुडा एवम् ट्रकमा आगजानी गर्ने एक दर्जन भन्दा बढी बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई गोलबजार ईलाका प्रहरीमा राखिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।

६ पुसमा औरही गाउँपालिकाको कृषि शाखाले निःशुल्क वितरण गर्न राखेको दुई सय ३७ बोरामा प्याक गरिएको एक सय ३४ क्विन्टल ८० किलोग्राम गहुँको बिउ ‘लुट्न’ किसानलाई उक्साएको आरोपमा प्रहरीले ८ पुसमा औरही–२ कडहर्वाका मिथिलेश यादवलाई पक्राउ गरेको थियो ।

यादवलाई पक्राउ गरेपछि सिकेका कार्यकर्ताले गाउँपालिकामा तालाबन्दी गर्नुका साथै जिल्लामा आमहडतालसहितको आन्दोलन गरेका हुन् ।
