चितवन,पुष ९ गते – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन्। मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ। अन्य कालगतीले मरेका हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन्। मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ। यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उनले जानकारी दिए।

कार्यालयका अनुसार आव २०७५र७६ मा ४३ गैँडा मरेका थिए। सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो। यस्तै आव २०७७र७८ मा ३३, २०७६र७७ मा २६, २०७४र७५ मा २६, २०७३र७४ मा २५, २०७२र७३ मा १४, २०७०र७१ र २०७१र७२ मा ११र११ गैँडा मरेका थिए। यस्तै आव २०६९र७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ। 

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन्। गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ। केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन्। गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि बढी हुने गरेको छ। सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढ्नुलाई अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरु बताउँछन्