सिरहा,पुस ६ गते । गाउँपालिकाले पूर्ण अनुदानमा वितरण गर्न ल्याएको गहुँ वितरणमा ढिलाइ गरेपछि किसानले आफैँ लगेका छन्।
गत मंसिर २९ मा खरिद गरी किसानलाई वितरण गर्न प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको गहुँको बिउ किसानले लगेका हुन्।
पनि ढिलाइ गरेपछि किसानले गहुँको बिउ गोदाममा प्रवेश गरेर लगेका हुन्। पटकपटक आएर घन्टाैँ लाइन लागे पनि किसानले बिउ पाएका थिएनन्।
किसानहरू बिहानैदेखि लाइन बसे पनि कर्मचारीहरूले वितरण गर्न ढिलाइ गरेपछि बाध्य भएर लुटेर लगेको जनमत पार्टीका स्थानीय नेता दीपेन्द्र यादवले बताएका छन्।‘गहुँको बिउ वितरणमा लापरबाही र आनकानी गरेपछि किसान बाध्य भएर लुटेर लगेका छन्,’ यादवले भने, ‘कार्यालय समयमा पनि कर्मचारीहरूले गहुँको बिउ नबाँडेपछि किसानले गरेका हुन्।’
औरही गाउँपालिकाका कृषि शाखा प्रमुख राजदेव यादवले किसानहरूले दुई सय बोरा गहुँको बिउ लुटेर लगेको दाबी गरेका छन्। एउटा बोरामा ४० किलो गहुँ रहेको र एक किसानलाई २०–२० किलो पूर्ण अनुदानमा दिँदै आए पनि किसानले लुटेर लगेको प्रमुख यादवको भनाइ छ। ‘हिजो पनि वितरण गर्दा विवाद भएको थियो,’ प्रमुख यादवले भने, ‘आज वितरण गर्न खोजिए पनि किसानले ढिलाइ भएको भन्दै लुटेर लगे।’ गहुँको बिउ लगेको विषयमा गाउँपालिकाले आवश्यक निर्णय गरेअनुसार अगाडि बढ्ने प्रमुख यादवले बताए।




















