जलेश्वर,पुष ६ गते – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडानं। ३ मा तीन दिनदेखि हराएकी एक महिलाको शव पोखरीमा भेटिएको छ । मटिहानी नगरपालिका वडानं।३ बरदाहा बस्ने फजेल राइनकी श्रीमती वर्ष २२ की रुकसाना खातुनको शव घर नजिकैको पोखरीमा तीन दिनपछि भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पुष २ गतेदेखि रुकसाना हराएको सूचना प्राप्त भएको र खोजतलासकै क्रममा उनको शव सोमबार साँझ घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको बताउनुभयो ।
मानसिक अवस्था राम्रो नभएको रुकसाना बेला बेलामा घरबाट हराउने, भाग्ने गरेको हुँदा उनको मृत्यु डुबेर भएको प्रारम्भिक अनुसन्धानले देखिएको बताइएको छ । प्रहरी कार्यालयका प्रवक्ता समेत रहनुभएका विष्टले अनुसन्धान भइरहेकाले अहिले नै विस्तृत भन्न नसकिने बताउनुभयो ।




















