गरुडा,पुष ६ गते – टिपरको ठक्करबाट एक जना स्थानीय नेताको मृत्यु भएको विषयलाई लिएर रौतहटको इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमाथि ढुङ्गामुढा प्रहार गरिएको छ ।
प्रहरीले दोषीलाई जोगाउन खोजेको भन्दै स्थानीयवासीहरुले विजयपुरमा रहेको कार्यालयमाथि ढुङामुढा प्रहार गरेका हुन् । आइतबार राती जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ हिमालीवासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नेकपा एमालेका नेता खेदु चौधरीको मृत्यु भएको थियो । नेता चौधरीलाई ठक्कर दिने टिपर चालक एवम् सवारी धनीलाई कारवाही गर्नुको सट्टा इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै पीडित परवारजन तथा स्थानीयवासीहरु आक्रोशित हुंदै कार्यालयमाथि तोडफोड गर्नुका साथै ढुंगामुढा प्रहार गरेका छन् ।
ढुङ्गा प्रहारबाट २ जना प्रहरी घाइते भएका छन् भने प्रहरीले गरेको लाठी प्रहारबाट एकजना स्थानीय मुक्ति पटेल घाइते भएका छन् । स्थानीयहरुले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र स्थानीयबीच केहीबेर झडप समेत भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गरेको विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले बताए । दोषीलाई पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी शव परीक्षणको लागि पठाउनु पर्नेमा सो नगरी प्रहरी निरीक्षक विश्वकर्माले मनपरी गरेको आरोप लगाइएको छ




















