सिरहा,पुस ५ गते । छुरा हानाहानको घटनामा संलग्न तीन जनालाई प्रहरीले समातेपछि सिरहाको गोलबजारमा विहानैदेखि अवरुद्ध सडक दश घण्टापछि सुचारु भएको छ । पीडितहरुले स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ नगरेको भन्दै आज विहानैदेखि पुनः सडक अवरुद्ध गरेको थियो । अवरुद्ध सडकले सयौं सवारीका साधनहरु गोलबजार खण्डमा रोकिदा यात्रुहरु यात्रुहरु विचल्लीमा परेको थियो । 

प्रहरीले वल प्रयोग गरी आज दिउँसो अवरुद्ध सडक खुलाउन खोज्दा पीडित र प्रहरीबीच झडप हुँदा दुई जना पीडितहरु घाइते भएको थियो । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । घाइते मध्ये एकजना मृतकका बहिनी हुन् भने अर्का गाउँले हो । सडक अवरुद्ध गराउनेहरुले उग्र रुप लिएपछि प्रहरीले दुई सेल अश्रुं ग्याँस समेत प्रहार गर्नुपरेको थियो । 

स्थानीय प्रशासनले घटनामा संलग्न केही व्यक्तिहरु पक्राउ भएकोले थप अनुसन्धान भइरहेको जनाउँदै पीडितहरुसँग गरेको प्रतिबद्धता समेत पूरा गरिने प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलवे जनाउ दिएपछि अवरुद्ध सडक खोलिएको हो । 

शनिवार बेलुका बजार भरेर फर्किने क्रममा युवाहरुबीच सामान्य विवादको क्रममा छुरा हानाहान हुँदा गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षिय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय  निकेश सदा घाइते भएको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।