काठमाडौं,पुष ५ गते – मुलुकभर विद्युत्को माग बढेको छ। विद्युत्को उच्च माग ९पिक डिमान्ड० औसत ३ सय मेगावाट हाराहारीमा बढेको हो। अघिल्लो वर्ष यो समयमा करिब १२ सय मेगावाट हाराहारीमा विद्युत्को माग थियो। अहिले १५ सय मेगावाटभन्दा बढिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यो वर्षको हिउँदमा १७ सय मेगावाटसम्म विद्युत्को उच्च माग पुग्ने प्राधिकरणको अनुमान छ। पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘खपत बढाउन चालिएका कदम र जाडो बढेका कारण विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘अघिल्लो वर्षभन्दा बढी उद्योग, कलकारखाना सञ्चालन भएको छ। यसले पनि खपत बढाएको हो।’ विद्युत् खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरूलाई चाहिए जति उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको भट्टराईले बताए।

विद्युतीय चुल्हो, एयर कन्डिसनरलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि, विद्युतीय यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको छ। प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ। विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासमा विद्युत् माग पनि ह्वात्तै बढेको छ। उपत्यकामा विद्युत्को अधिकतम गत वर्ष २ सय ९३ मेगावाट थियो। अहिले  ३ सय ८२ मेगावाट पुगेको छ। ‘विद्युत्को माग अहिलेकै दरमा बढ्यो भने चालू आवमै २ हजार मेगावाट हाराहारी पुग्न सक्ने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने। 

उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने प्राधिकरणको अल्पकालीन योजना छ। त्यस्तै निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्नेसमेत योजना रहेको प्रवक्ता भट्टराईले बताए।  दीर्घकालीन योजनाअन्तर्गत भने विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचाहन गरी ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण छन्। प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरिरहेको छ। औद्योगिक करिडोरमा विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि काम अगाडि बढाइएको प्राधिकरणले जनाएको छ