सिरहा,पुस ४ गते ।घटनाको दोषीलाई कार्वाहीको माग गर्दै पीडितहरुले पूर्व पश्चिम राजमार्ग खण्ड अन्तर्गत सिरहाको गोलबजारमा भएको चक्का जाम पीडित र स्थानीय प्रशासनको तीन बुँदे सहमती पछि सडक सुचारु भएको छ ।

घटनाको दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा ल्याउने, घाइतेको उपचारको व्यवस्था गरिने, पीडितलाई कानुनी अनुसारको क्षतिपूर्ति दिलाउने प्रशासनको आश्वासनपछि विहान ६ बजेदेखि पीडितले गरेको चक्काजाम पाँच घण्टापछि खुलेको हो । सडकमै टायर बालेर चक्काजामका कारण सयौं सवारी साधनहरु बीचबाटैमा अलपत्रमा परेका थिए ।

शनिवार बेलुका बजारबाट तरकारी किनेर गईरहेको बेला स्थानीय केही युवाले घेरेर सिरहा गोलबजार नगरपालिका वडा नं। ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदामाथि छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते उनलाई उपचारका लागि लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।