विराटनगर,पुष २ गते – मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग गरिएका तीनवटा टिपर मोरङको मिक्लाजुङमा बिहीबार साँझ तोडफोड गरिएको छ ।
लोकमार्गअन्तर्गत झापाको बेलडाँगीदेखि धरानको सर्दु खण्ड निर्माणमा प्रयोग गरिँदै आएका टिपर मिक्लालुङ गाउँपालिका–९ मा तोडफोड गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार तोडफोडबाट प्रदेश ३–००१ क ००९०, प्रदेश ३–००१ क ००९१ र प्रदेश ३–००१ क ०२९० नम्बरको टिपरमा क्षति पुगेको छ ।
तोडफोडका कारण सबै टिपरको अगाडिको सिसामा पूर्ण रूपमा क्षति पुगेको उनले बताए । टिपर मोतीदान कन्सट्रक्सन सेवा प्रा।लिको हो । डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मिक्लाजुङ–९ का २६ वर्षीय धुम्बे भनिने शिवराज मगरले टिपर तोडफोड गरेको खुलेको छ । सडकमा गुडिरहेका टिपर तोडफोड गरेर फरार बनेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लोकमार्ग निर्माणमा प्रयोग गरिएका टिपर तोडफोड गर्नुपर्ने कारण खुल्न बाँकी छ । मोतीदान कन्सट्रक्सन सेवा प्रा।लिका डाइरेक्टर विकास गौतमले माटो लिन जाँदै गरेका बेला टिपर तोडफोड गरिएको जानकारी दिए




















