पर्सा,पुष १ गते – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका– १६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महतोले ती किशोरीलाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका–४ टोल डकैलास्थित आफ्नो दिदीको घर कोठामा लगि मंसिर २६ गतेसम्म पटक–पटक करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्वत, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका–८ चित्रे बस्ने २१ वर्षीया जितेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले ती महिलाको घरमा कोही नभएको अवस्थामा प्रवेश गरी बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















