सिरहा,मंसिर २९ गते – निर्माणकार्य सम्पन्न भएको छ महिना नबित्दै सप्तरीको कञ्चनरूप नगरपालिका १० भोडहा जाने सडक भत्केको छ । सडक निर्माण भएको भुक्तानी नहुँदै सडक भत्केको हो ।
गत आर्थिक वर्ष २०७७–७८ बजेट असार मसान्तमा ठेकेदारले सडक निर्माण गरेको थियो । साउनको झरीमा निर्माण कार्य गरेको कारण केही दिनमै सडक भत्किन सुरु भएको स्थानीयको भनाइ छ । सडक भत्किदा प्रत्येक दिन साइकल, मोटरसाइकलमा सवार यात्रुहरु लडेर घाइते हुनेगरेको कञ्चनरुप –१० का वडा अध्यक्ष दिलीप चौधरीले बताउनुभयो । १३ सय मिटर निर्माण भएको सडकमा ५ मिटर पनि गुणस्तरीय नहुँदा स्थानीयले गुनासो गरेका छन् । पालिकाको योजना शाखाकाअनुसार आयोजनाको नाम चन्द्रनहरदेखि भोडहा हुँदै कोशी तटबन्धसम्म कालोपत्रे सडक निर्माण गर्नुपर्ने थियो । सडक निर्माण कार्यका लागि कुल १ करोड ७२ लाख बजेटमा ८६ लाख पालिकाले र ८६ लाख समपूरक अनुदानले दिएको थियो ।
पी।बी।एण्ड एस इन्जीनयरिङ कन्सलटेन्सी एण्ड कन्ट्रक्सन कञ्चनपुर सप्तरीले ९० लाख ८५ हजार ६ सय ९३ रूपियाँ ५९ पैसामा सो आयोजना निर्माण कार्यको लागि ठेक्का लिएको थियो । नगरपालिकाका प्रशासनिक अधिकृत नवराज खड्काले सडकको निरीक्षण गरेर मात्र भुक्तानी दिने बताउनुभयो




















