विराटनगर,मंसिर २९ गते – मोरङको रतुवामाई नगरपालिका–१० सातमेडीबाट प्रहरीले तस्करीको २१ क्वीन्टल ९दुई हजार एक सय किलो० चिनी बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको मे १ च ५६७० नम्बरको पिकअप भेनमा भन्सार छली गरेर भित्र्याइएको चिनी मंगलबार साँझ बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जुटको बोरामा राखेर भेनमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा ५० किलो दरका ४२ बोरा चिनी बरामद गरिएको हो । शंकास्पद अवस्थाको भेन नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिणाममा तस्करीको चिनी फेला परेको उनको भनाइ छ । चिनी भेटिएपछि प्रहरीले चिनीसहित भेन, भेनका चालक झापाको दमक नगरपालिका–७ का ३२ वर्षीय दिनेशकुमार श्रेष्ठ र चिनी धनी रतुवामाई–५ का ४५ वर्षीय धु्रवकुमार शिवाकोटीलाई नियन्त्रणमा लिएको छ । बरामद भएको चिनी, चालक र धनीलाई आवश्यक कारबाहीका लागि बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी डीएसपी श्रेष्ठले दिए