सिरहा,मंसिर २८ गते – सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट ९ सय एम्पुल नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षीय राजेश कुमार यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३–०२–०३१ प. २७८१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका–१ स्थित जिल्ला कारागार कैलालीमा रहेको लागूऔषध मुद्दाका बन्दीलाई भेट्न आएको अवस्थामा उनलाई कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने बागलुङ बाडिगाड गाउँपालिका–३ घर भएका २७ वर्षीय रमेश घर्ति मगरलाई २ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















