सिरहा,मंसिर २६ गते – मकवानपुरको मनहरी गाउँपालिका–९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका(७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५ ग्राम २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चितवन रत्ननगर नगरपालिका–२ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४८०२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार खड्कालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ सहिद स्मारक गेट नजिकबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चितवन राप्ती नगरपालिका–७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















