राजविराज, २४ मंसीर । नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले अशोक मण्डल (अमर) ले आफ्नो अध्यक्षतामा समानान्तर एवंम् अबैधानिक जिल्ला कमिटी गठन गरी जिल्लाका पालिकाहरुमा समानान्तर तथा अबैध कमिटीहरु गठन गरेको आरोप लगाउनुभएको छ ।
    जिल्ला अध्यक्ष यादवले शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय समिति र स्थायी समितिको बैठकबाट गरिएका निर्णय कार्यान्वय गर्न गरिएको परिपत्र बिपरित २०७७ चैत २८ गते मण्डलले आफ्नै अध्यक्षतामा समानान्तर जिल्ला कमिटी र हालै पालिकाहरुमा समानान्तर अबैध कमिटीहरु गठन गरेको आरोप लगाउनुभएको हो ।
    यस्तै पार्टीको प्रदेश २ का पदाधिकारीहरुको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न गरिएको परिपत्र बिपरित मण्डलले जिल्लामा समानान्तर गतिबिधिहरु जारी राखेको आरोप लगाउँदै अध्यक्ष यादवले जिल्लाको बिवाद समाधान गर्न पार्टी अध्यक्ष प्रचण्ड र प्रदेश २ का पदाधिकारीहरुले गरेको पहल र प्रयत्न गरेपनि मण्डलले छलफलमा समेत बस्न नमानेको बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
    जिल्लाको समस्या समाधान गर्नुभन्दा पनि आफुलाई अध्यक्षबाट नहटाएसम्म बैठकमा बस्न नसक्ने मण्डल र उहाँका गिरोहको हठ, घमण्ड एवंम् पार्टी निर्णय उल्लंघन गर्ने प्रबृतिका कारण पार्टीभित्रको समस्या जटिल बन्दै गएको अध्यक्ष यादवद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
    जिल्ला पार्टीभित्रको समस्या समाधानका लागि २०७५ बैशाखतिर गठन भएको कमिटीको बिरुद्धमा २०७७ चैत २८ गते गठन भएको समानान्तर र अबैध जिल्ला कमिटी भंग गर्नुपर्ने, बिवाद रहित ढंगबाट गठन भएका पालिका कमिटीलाई मान्नेर जाने र बाँकी रहेका पालिकाहरुमा अधिकतम सहमति गरेर जाने तथा समानान्तर रुपमा सम्मेलन भएका पालिकाहरुमा दुबै कमिटीलाई सहमतिमा ल्याउने प्रयास गर्ने लगायतका प्रस्ताव आफुले राखेको समेत बिज्ञप्तीमा उल्लेख छ ।