धनगढी,मंसिर २४ गते – कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका(३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई बन्दुक र हतियारसहित पक्राउ गरिएको जानकारी दिए । शंकाका आधारमा उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउण्ड गोली लगायतका घरेलु हतियार समेत बरामद गरिएको डीएसपी जोशीले बताए । उनकाअनुसार लुकाइछिपाइ राखेको अवस्थामा एउटा चक्कु, एउटा बन्चरो र दुई वटा टर्च लाइट पनि बरामद गरिएको छ । बरामद गरिएको हतियार, मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भजनीमा बुझाइएको छ