सिरहा,मंसिर २३ गते – झापाको अर्जुनधारा नगरपालिका – ११ नयाँ बसपर्कबाट २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ईलाम, ईलाम नगरपालिका–१० बस्ने ३६ वर्षीय बिराज शिवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो यसैगरी झापा, बुद्धशान्ति गाउँपालिका– ३ बेलचोकबाट ४ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा चैनपुर नगरपालिका(११ घर भएका ३० वर्षीय दिपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगरपालिका–४ बस्ने १९ वर्षीया संगिता तामाङ रहेका छन् । दिपकको कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका– १६ जयसपुरबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ३० वर्षीय शेर जोलाहालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ




















